काठमाडौं, २७ फागुन । जनता प्रगतिशील पार्टी नेपाल र तराई-मधेस लोकतान्त्रिक पार्टीबीच भएको कार्यगत एकतामा जनमत पार्टीसमेत समाहित भएको छ ।

आइतबार तीनवटै पार्टीबिच काठमाडौंमा भएको छलफलपश्चात कार्यगत एकता गर्ने सहमति भएको हो ।

देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै पूर्वसांसद हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबिच फागुन ९ गते कार्यगत एकता भएको थियो ।

तीनवटै पार्टीबीच ७ बुँदे कार्यगत एकताको सहमति बनेको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेशकुमार मण्डलले जानकारी दिएका छन् ।

सातबुँदे सहमतिमा नेपालको संविधानको रक्षा गर्दै संशोधनका लागि प्रयास गर्ने भनिएको छ । उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तराई-मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्नका लागि पनि तीनवटै पार्टी एकतामा आएको उल्लेख छ ।

मुलुकमा भएका विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्ने, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने, देशको कृषि उत्पादनमा बृद्धि तथा किसानको हितमा क्रियाशील रहने, उद्योगधन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्ने एवम् गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्रिपाठी, लाल र राउतले सात बुँदामा सहमत हुनसक्ने अन्य दलहरूलाई सहकार्यमा आउन पनि अनुरोध गरेका छन् ।