नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाण्डौँ, २७ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
आइतबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियाको समय लिन विरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका छन ।
बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने धारणा राखेका छन ।
यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्ने प्रतिवद्धता जनाएका छन । त्यस्तै उनले जनताको सेवा गर्नेलाई वरीयताको वास्ता नहुने जिकिर गरेका छन ।
जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनले यसअघि पनि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भइसकेका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


