काठमाण्डौँ, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालमा भएका केही उद्योगहरूलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरे । अध्यक्ष ओलीले कांग्रेसले नेपालमा भएका उद्योगहरूलाई भ्रष्ट र कमिसन खोरी बनाइदिएको बताए ।

उनले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्योगिक क्रान्ति उहिल्यै चल्यो । हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजी करण भनेर काँग्रेसले उहिल्यै सिध्यायो । निजी क्षेत्रलाई पनि सिध्याइदियो । हाम्रा जो उद्योगहरू थिए ती भ्रष्ट बनाइदियो ।’

अध्यक्ष ओलीले एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको बताए । उनले भने, ‘अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौँ । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसन तन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन ।’