काठमाण्डौँ, १५ फागुन । सरकारले आगामी फागुन १६ र १७ गते हुने नेपाल र भारत पराराष्ट्र सचिवस्तरीय छलफलका लागि भारत जाने प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले परराष्ट्र मन्त्रालयकी सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् । भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको हो ।

यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत्सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।