आफूहरूप्रति नकारात्मक भावना पैदा गरिएको पूर्वराजा शाहको टिप्पणी

काठमाडौँ, माघ १४ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको स-परिवार हत्या भएको घटना स्मरण गरेका छन् । साथै, उनले १९ जेठ २०५८ को साँझ भएको राजपरिवारको हत्याकाण्डसँग आफ्नो नाम जोडेर टीकाटिप्पणी भएकोमा शाहले गुनासोसमेत गरेका छन् ।
नागरिक अभिनन्दन ग्रहण गर्न वीरगञ्ज पुगेका पूर्वराजा शाहले समर्थकमाझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो’ भनेर गुनासो पोखे ।
उनले चित्त दुखाएको भावमा भनेका छन्, ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।’
पूर्वराजा शाहले दरबार हत्याकाण्डलाई राजनीतिक जालझेल गरी आफूहरूप्रति नकारात्मक भावना पैदा गर्ने काम भएको पनि बताए ।
‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ,’ उनले भने, ‘असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’
उनले स्पष्टीकरणको शैलीमा अगाडि थपे, ‘आफ्नो पुर्ख्यौली राजदरबार परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ– म नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हितहोस् भन्ने मेरो हार्दिक कामना छ ।’
पूर्वराजा शाहले परिवर्तन पछिको व्यवस्था र राजकाजप्रति तीव्र असन्तोष प्रकट गर्दै जनतामा चरम निराशा छाएको दाबी पनि गरे । बितेका १५ वर्षपछि आज असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको दाबी गर्दै उनले आफ्नो गरिमापूर्ण राजपाठबाट त्याग्दा आफूले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई आज पनि सान्दर्भिकरूपमा सम्झिरहेको उनको भनाइ छ । ‘त्यसै आशय अनुरूप मैले चिरकालपर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ,’ पूर्वराजा शाहले विगत सम्झिँदै भने ।
उनले तराई र उर्वर भू–भाग उजाड बन्दै गएकोमा चिन्ता पनि प्रकट गरे । ‘हामी देखिरहेका छौँ, भोगिरहेछौँ, ‘दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू–भाग आज उजाड बन्दै गइरहेको छ,’ उनले भने, ‘यहाँको पोखरी, पानीको श्रोत ट्युबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरणतिर गइरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो,’ पूर्वराजा शाहले भने ।
उनले राज्य, अर्थ व्यवस्था, राजनीतिको राम्रोसँग मूल्यांकन गर्ने बेला आएको पनि बताए ।
‘हामी देशमै छौँ, आज पनि देशमै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नती होस्, भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ,’ पूर्वराजा शाहले भने, ‘त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ ।’
नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्षपछि पूर्वराजाको यस्तो अभिव्यक्तिले घटना थप रहस्यमय बनाउँदै लगेको छ । हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए पनि घटनाको दोहोर्याएर कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
वर्षौंसम्म गुजुल्टिएको हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ ।