थप २६०१ जनालाई सहिदको सूचीमा समेट्ने तयारी

काठमाडौँ, १० माघ । सरकारले थप २६०१ जनालाई सहिदको सूचीमा समेट्ने तयारी गरेको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सहिदको संख्या हाल १२ हजार १ सय ९७ जना छ । उल्लेखित संख्या थपेर सहिदको संख्या १४ हजार ७ सय ९८ जना पुर्याउन लागिएको हो ।
गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयबाट थप २ हजार ६ सय १ जनाको सूची प्राप्त भएको र त्यसलाई राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षता आयोग गठन गरेर थप गर्नुपर्ने सहिदको सूची तयार गरेको हो ।
बुधवारदेखि सहिद सप्ताह सुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ ।
सहिद परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गर्छ । थप २६०१ जनालाई सहिदको सूचीमा समेट्दा राज्यलाई दुई अर्ब ६० करोड व्ययभार थपिन्छ ।