काठमाडौं, २८ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।

७ जनाको घटनास्थमै मृत्यु भएको र अन्य ५ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । हालसम्म ८ जना यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परि घाइते भएका अन्य २३ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए । घटना के कसरी भएको भन्नेबारेमा चालकलाई नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।