काठमाडौं, २८ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।