सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सस्तो ब्याजमा ऋण दिने

काठमाडौं, २४ पुस । सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सस्तो ब्याजमा ऋण दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश जाने युवाहरू मिटरब्याजी र दलालबाट ठगिएको भन्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयलाई यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्रीले भने, ‘श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला ।’
वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि बैठकमा प्रधानमन्त्रीले निर्देशन दिए ।
‘वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस)लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्न पनि उनले निर्देशन दिए । उनले भने, ‘साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


