मंगल आजु जनकपुर घर घर मंगल हे…

-ज्योति झा
जनकपुरधाम, १८ पुस । अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि बिहीबार बिहान जनकपुरधामबाट सयौं भार (पाहुर) लगिने भएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट पठाउन लागिएको भार (पाहुर) को तयारी सम्पन्न भएको हो ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले भार लिएर बिहीबार बिहान साढे ८ बजे जनकपुरधामबाट प्रस्थान गर्ने जानकारी दिएका छन् ।
उनले जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्हमा, मलंगवा, सिमरौनगढ, कलैया, गढीमाई हुँदै वीरगंजमा रात्री बास बस्ने बताए ।
भोली पल्ट अर्थात शुक्रबार भारतको रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताए । त्यसपछि शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गर्ने उनले जनाए । भार हस्तान्तरण गरेपछि आफूहरू सोही दिन अयोध्याबाट जनकपुरधाम फर्कने उनले बताए ।
सीताको नगरी जनकपुरधामबाट रामको नगरी अयोध्याका लागि ११ सय भार लगिँदैछ । वीरगंजसम्म पुग्दा थप भार ठाउँठाउँबाट आउने सहायक महन्थ दासले बताए ।
टोलीमा जनकपुरधामबाट २५० जना सहभागी छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


