भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परराष्ट्रमन्त्रीको छलफल

काठमाडौं, १७ पुष । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरुसँग छलफल गरेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मंगलवार उनले उक्त छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाब दिएको मन्त्री सादउले जानकारी दिए ।
‘उहाँहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो,’ मन्त्री साउदले भने ।
छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उनले बताए ।
मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


