सरकारले सहिदलाई सम्झिने वातावरण सिर्जना गर्न सकेको छैन : सभामुख घिमिरे

काठमाडौँ, १४ पुष । सभामुख देवराज घिमिरेले सरकारले सहिदलाई सम्झिने वातावरण सिर्जना गर्न नसकेको बताएका छन् । शनिबार राजधानीमा आयोजित सहिद हरि नेपालको ४४ औं स्मृति सभामा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हरि नेपालको योगदानले गर्दा आज देशमा यो राजनीतिक अवस्था प्राप्त भएको छ । आज यो बाटोमा हामीले श्रद्धा व्यक्त गरिरहेका छौं । अहिले देशमा हामी जुन प्रणालीअन्तर्गत शासन गरिरहेका छौं, जस्तो खालको सरकार छ, यसले सहीदहरुको स्मृतिमा उहाँका सहयोगीहरुले प्रयत्न गरेर मात्रै होइन सिंगो राष्ट्रले यो अवस्था ल्याउन योगदान गर्ने सहिदहरुलाई सम्झिने वातावरण बनाउनुपर्ने थियो ।’
सहिदका विषयमा सरकार जिम्मेवार हुनुपर्ने उनले बताए । सहिदको नाममा के काम गरिएको छ, के योजना बनेका छन् त्यो कसले बनाउने हो, कहिले बनाउने भन्ने प्रश्न गर्दै उनले यसरी हेर्दा यस्ता कामहरुमा ध्यान नगएको पनि बताए ।
उनले भने, ‘हरि नेपालको योगदानले समाजको अभाव, गरिबी र अवसरको समस्या हल गरेर अगाडि बढ्ने बाटोमा राज्यले भूमिका निर्वाह गर्नुपर्छ । पार्टीहरुको दायित्व हुनुपर्छ र यो प्रणालीलाई मजबुत बनाउने समय आएको छ, यही समयमा सहिदहरुलाई सम्झिएर प्रतिकूलताहरुलाई चिर्ने र सकारात्मक काम गर्ने कुरामा यो प्रतिष्ठानले सफलता हासिल गरोस् ।’
यस्तै, उक्त कार्यक्रममा एमाले सांसद योगेश भट्टराईले समाजमा केही असन्तुष्टि, आक्रोसहरु पैदा भएको बताए । उनले भने,’अहिलेको व्यवस्थामा हरेक मानिसले आफ्नो असन्तुष्टिहरु प्रकट गरेको छ त्यसलाई सम्मान गर्नुपर्छ । यो व्यवस्थाको विशेषता पनि हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


