काठमाडौं, १४ पुष । जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाप्रति दुःख व्यक्त गरेको छ ।

जसपाले बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले शनिबार एक विज्ञप्ति जारी गर्दै देशभित्रै रोजगारी सृजना गर्न नसक्नु राज्यको कमजोरी भएको बताएका छन् । रोजगारको माग गर्ने युवामाथि दमन गर्नु र नागरिकको हत्या गर्नु झन् दुःखद कार्य भएको उनले बताए ।

जसपाले पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ईपीएस परीक्षामा आवेदन दिन नपाउने भनी कसले र किन निर्णय गरेको थियो ? उक्त घटना कसरी घट्न गयो ? उक्त घटनासँग जोडिएको समग्र विषयको सत्य, तथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न जसपा नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’