काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ।

यसअघि अर्का युवक सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।