अयोध्यामा भगवान रामको मूर्ति बनाउन नेपालबाट पठाइएका शिलाहरू कहाँ छन् ?

जनकपुरधाम, १३ पुस । भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नजिकिँदै गर्दा मन्दिरमा रामको मूर्ति बनाउन नेपालबाट पठाइएको शिलाहरूबारे चर्चा बढिरहेको छ ।
गत फेब्रुअरीमा काली गण्डकी नदीबाट २ वटा शिला अयोध्या पठाइएको थियो । यिनीहरूको तौल क्रमशः १४ टन र २७ टन थियो । कालीनदी तटबाट सङ्कलन गरिएका यी शिला जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।
सुरुमा यी शिलाबाट रामको मूर्ति बनाइने कुरा सुन्नमा आएको थियो । तर यी शिला मूर्ति बनाउन उचित नभएको खबर पनि आए ।भारतीय सञ्चार माध्यमहरूमा छापिएका केही खबरका अनुसार यी शिलाबाट मूर्ति बनाउने विषयमा राम मन्दिरसँग सम्बन्धित सन्तहरूले नै आपत्ति जनाएका थिए ।
खबरका अनुसार यी शिला कालीगन्डकी नदीको भएको अनि त्यहाँको ढुङ्गा शालिग्राम बराबर भएकोले ती शिलालाई मूर्ति बनाउन प्रयोग गर्न नसकिने केही सन्तको मान्यता थियो । शिलाको जाँचपछि मूर्तिकारहरूले यस्तो शिलाबाट मूर्ति बनाउन सम्भव नभएको बताएपछि अरू ढुङ्गाले मूर्ति बनाइएको बताइएको छ ।
१४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको शिलामा मूर्ति कोर्न खोजिएको थियो । तर त्यो शिला पनि मूर्ति बनाउन उपर्युक्त नपाइएपछि दुबैलाई राम मन्दिरको निर्माण स्थल नजिक राखियो । राम मन्दिरको गर्भगृहमा राख्न भारतको अलग अलग स्थानबाट ल्याइएको डुङ्गाहरूबाट तीनवटा मूर्ति बनाइएको भारतीय सञ्चार माध्यमले भनेका छन् । यीमध्ये सबैभन्दा राम्रो मूर्तिलाई छानेर गर्भगृहमा राखिएको थियो । शिलाबाट मूर्ति नबनाइएको भए पनि शालिग्रामको रूपमा पूजा गर्नु पर्ने भन्दै नेपालका केही प्रतिनिधिहरूले जोड दिइरहेका छन् ।
अयोध्यामा निर्धाणधिन राम मन्दिरमा जनवरी २२ मा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । ट्रस्टले यसको तयारीका लागि पाहुनाहरूलाई निम्तो पठाउन पनि सुरु गरेको छ । मन्दिरको गर्भगृह निर्माणको काम चौबिसै घण्टा भइरहेको छ । समयमै काम सम्पन्न गर्ने प्रयास भइरहेको छ ।
यस कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित देश विदेशबाट विशेष अतिथि अयोध्या आउनेछन् । नयाँ मन्दिरको लागि पुजारीहरू छान्ने काम पनि भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


