एजेन्सी, १२ पुस । भारतको तमिलनाडु राज्यमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ । कोरोनाबाट संक्रमित उनको बिहीबार चेन्नइमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना पोजिटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो । मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको निधन भयो,’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो ।

विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन् । फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिय भएका थिए । डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुईपटक विधान सभाको सदस्य भएका थिए ।

सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो ।