विराटनगर, १२ पुस । मोरङ प्रहरीले हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका ४९ वर्षीय सुरेशप्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

उनलाई विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको डीएसपी दाहालले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी कारोबारी जस्तो देखिएको उनले बताए । यता, साहले आफू खाद्यान्नको व्यापारी भएको प्रहरीलाई बयान दिएका छन् ।

को ७ प ५२२१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका उनको बारेमा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।