काठमाडौं, पुष ११ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।

पार्टीको बुधवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए । अहिलेको संकटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको उनको दाबी थियो ।

अध्यक्ष नेपालले भने, ’वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याए । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो ।

भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, ’सही राजनीतिक कार्यदिशाको खाँचो छ ।’ उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी संगठनात्मक रुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताए । उनले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी संगठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव संकलन गरी मस्यौदामा छलफल गरिनेछ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा संगठन सुदृढीकरण रणनीति तय गरिनेछ ।