काठमाडौँ, पुष ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ऐन ल्याएरै भए पनि भूमिहीनलाई लालपुर्जा वितरणको काम थाल्ने बताएका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रमअन्तर्गत बुढानिलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले भूमिसम्बन्धी समस्या, सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या समाधानका लागि ऐन निर्माण भइरहेको बताए ।

‘भूमिसम्बन्धी समस्या, सुकुम्बासीको समस्या, अव्यवस्थित बसोबासको समस्या र स्वबासीको समस्या, काठमाठौं, ललितपुर र भक्तपुरमा स्वबासीको समस्या पनि ठूलै समस्याको रुपमा रहेको छ, त्यसलाई हल गर्नको लागि मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु र लालपूर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदै छ,’ उनले भने, ‘म तपाईंहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्या समाधान गर्नको लागि ऐनमा भएका केही त्रुटिहरुका कारणले ५० औं वर्षदेखि रोकिएका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदै छ ।’ त्यस्तै, उनले डेढवर्षभित्र देशको सम्पूर्ण भूभागमा विद्युत् सेवा पुग्ने ठोकुवा गरे ।