काठमाडौं, पुस १ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र अवस्थामा पुगेको भन्दै अब यसरी चल्न नदिने बताएका छन् । उनले यसको निकास एमालेले दिनेसमेत दाबी गरे ।

आइतबार पाँचथरको चिवाभञ्ज्याङमा मध्य पहाडी पुष्पलाल लोक मार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब देशको राजनीति यसै गरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन ।’

उनले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमा जोड दिएको बताए । अध्यक्ष ओलीले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाए । उनले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे । उनले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘यो यात्रा अत्यन्त सफल भएको छ । राजनीतिक हिसाबले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ । अरू पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अब देशको राजनीति यसै गरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ । यहाँ देश र जनताको समय खेर गइरहेको छ । आउँदो पीढीको भविष्य अप्ठ्यारोतर्फ धकेलिँदै छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन यस सङ्कल्प यात्राले असाधारण योगदान गरेको छ ।’

नेकपा (एमाले) ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्य पहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुंगिएको हो ।