हेटौंडा, मंसिर ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् । मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरू नहुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोसिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रदेशहरूमा बन्न मानव सेवा आश्रमका भवन निर्माणमा संघ, प्रदेश र स्थानीय तह सबैबाट सहयोग जुटाउने काममा पनि आफू लागिपर्ने आश्वासन दिए ।

उनले भने, ‘तपाईँहरूको भवन निर्माणमा संघबाट, प्रदेशबाट र स्थानीय तहबाट सबैतिर सहयोग जुटाउनेतिर पनि मेरो कोसिस हुन्छ । यहाँबाट अहिले मानवतासम्बन्धि एउटा नयाँ सन्देश नेपाल दिन सक्छ, दिन पर्छ भन्ने चेतनासहित रामजी अधिकारी र केही अभियन्ताहरू जसरी ज्यान छोडेर लाग्नुभएको छ । साँच्चै उहाँहरू समर्पित भएर लाग्नुभएको छ । यो सम्भव छ भन्ने म पनि ठान्छु ।’