काठमाडौं, २६ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर थानीले उद्योगमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।

उद्योगमन्त्री रिजालले थानीले राजीनामा दिएको पुष्टि गरेका छन् । उनले भने, ‘आज ४ बजे मन्त्रालयमा आउनु भएको थियो  । भोलिको दिनदेखि स्वीकृत हुने गरी राजीनामा पत्र बुझाउनु भएको छ ।’

थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । थानीले ‘स्वतन्त्र रुपमा बस्न चाहन्छु’ भनेपछि आफूले राजीनामा स्वीकृत गरेको उनको भनाइ छ ।

निगममा २१ महिना  बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका छन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।