डा.केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित छन् : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।
वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए ।
उनले भने, ‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ ।’
उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए । नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो । मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए ।
राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अति आवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गरे ।
‘मैले क्याबिनेटमा यो कुरा लगेँ । कार्यक्रम एकदमै राम्रो भन्नुभयो प्रधानमन्त्रीज्युसहित सबै मन्त्रीज्युहरुले । लागू कसरी गर्ने त्यो चाहीँ हेर्नुपर्छ भन्नुभयो । कानुन त हामीले बनाउने हो नि । यदि यो प्रस्ताव ठिक छ भने कानुन त्यो अनुसार बनाउन किन कन्ज्युस्याँई गर्ने ? त्यहाँ पनि फेरि गिरोहहरुको खेल हुन्छ’ उनले भने, ‘कुरा क्लियर छ । मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ ? त्यहाँबाट खेल्न थाल्छन् । यो खेल्न खोज्ने कुराको बिरुद्धमा तपाईहरुको पनि साथ मलाई चाहिन्छ ।’
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


