काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रूपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।

यसका लागि आवश्यक पर्ने कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।

सोमबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औँ बैठकमा उनले देशमा उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राखे ।

त्यस्तै, आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आकलनका आधारमा चिकित्सा शिक्षा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु जरुरी भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा अध्ययन र अध्यापनको व्यवस्था सातै प्रदेशमा मिलाउन आवश्यक नीतिगत, कानुनी र संस्थागत सुधार गर्न सबैको साथ आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘सबै प्रदेशहरूमा चिकित्सा शिक्षा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्ति विकास गरी जनताको घरदैलोमा सरल र सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान हामी सबै मिलेर काम गर्नु आवश्यक छ ।’

उनले जनशक्ति उत्पादन वृद्धिसँगै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालना गराउनु अनिवार्य रहेको पनि उल्लेख गरे । अहिले सम्बन्धित सेवा लिने र दिने, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुने गरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोप उनले लगाए ।

उनले भने, ‘हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रूपमा बजारमा ल्याइने काल्पनिक सूचनाका कारण सेवा प्रदायक संस्थाहरू, अभिभावक तथा विद्यार्थीहरू, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकोमा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नु पर्ने हुन्छ ।’