कञ्चनपुरबाट ४२ जना जुवाडे पक्राउ

काठमाडौं, २८ कार्तिक । कञ्चनपुर प्रहरीले ४२ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी ३ लाख ५ हजारभन्दा बढी नगदसमेत बरामद गरिएको जानकारी दिए ।
जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट २ लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
यस्तै बेलौरीबाट २२ हजार नगदसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


