लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति यादव

काठमाडौं, २८ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन् ।
तिहार पर्व २०८० को पावन अवसरमा शुभकामना व्यक्त गर्दै उनले दीपावली सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्वपूर्ण पाटो रहेको उल्लेख गरेका हुन् ।
उनले तिहारको अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।यसले आफूभित्रको अँध्यारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उनको विश्वास छ ।
हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान पर्व हो । प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउने उनले बताए ।
यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ । यो पर्व अन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्द्धन पूजा, म्हः पूजा र भाइटीका (भातृ द्वितीया) पर्दछन् ।
।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


