आज देशभर विविध कार्यक्रमको आयोजना गरी नेपाल सम्वत् मनाइँदै

काठमाडौं, २८ कार्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको हो । यस कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
आजैका दिन नेवार समुदायमा म्हः पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यस पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । देशभरका अधिकांश नेवार समुदायले भने आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा गर्दै छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रुपमा रहेको बताए ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


