जनकपुरधाम, २२ भदौ । धनुषा प्रहरीले जनकपुरधामबाट स्रोत नखुलेको लाखौं रकमसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेका छन् ।

शुक्रबार दिउँसो करिब साढे १ बजेको समयमा भारतबाट नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसारपसार गरेर ल्याइरहेका साहलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

चेकजाँचको लागि खटिएको संयुक्त प्रहरी टोलीले चेकप्वाईन्ट खडा गरी चेकजाँच गरिरहेको अवस्थामा साहमाथि शंका लागेर शरिर तथा उनले बोकेको झोला समेतको खानतलासी गर्दा पाईन्टको अगाडीको दाहिने खल्ति भित्रबाट ९८०३४५२३५८ नम्बरको सिमकार्ड सहितको oppo लेखिएको स्क्रिनटच मोबाइल १ थान र पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान तथा ५ सय दरको नोट ४०० थान गरी जम्मा २० लाख ५० हजार रूपैयाँ फेला परेको डीएसपी गौतमले बताए ।

बरामद भएको दशीसहित साहलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।