काठमाडौँ, २१ भदौ । रास्वपा सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी दिए ।

उनले भने, ‘यो सदनले पारित गरेको नक्सा छिमेकी राष्ट्र संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको रहेनछ । गराउने हो कि होइन पनि थाहा छैन भन्नुभयो । हामीलाई यसबारे जानकारी चाहियो । नेपालको भूगोल संवेदनशील भू—राजनीति कुनै नेता र पार्टीको राजनीति गर्ने खेल नबनोस् । यसका लागि तथ्यपरक सूचना सदनलाई जानकारी दिनुहोला ।’

आफ्नो भूमि समेटिएको नक्साबारे समेत सबैलाई जानकारी नदिइएको प्रति उनको आक्रोश छ ।

उनले भने, ‘प्रतिनिधिसभाले २०७७ जेठमा नै पारित गरेको नेपालको नक्साबारे छिमेकी मुलुकलगायत अन्य ठाउँमा जानकारी गराएको कि नगराएको कुरा थाहा छैन भनेर परराष्ट्रमन्त्रीले भन्नुभएको छ ।’