प्रधानमन्त्रीको चीन भ्रमणका सबै एजेन्डा तय भएको छैन : परराष्ट्रमन्त्री साउद

काठमाडौँ, २१ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षालगायत समग्र विषयमा सहयोगका लागि छलफल हुने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे जानकारी दिँदै उनले छलफलका ठोस एजेन्डा भने तय हुन बाँकी रहेको बताए ।
मन्त्री साउदले भने, ‘अहिले सबै एजेन्डाहरू फाइनल भइसकेको छैन । यसमा एजेन्डाहरू छन्, पूर्वाधार विकास, कृषि ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा गर्ने सहयोगका बारेमा छलफल चलिरहेको छ । सम्झौताका बारेमा पनि दुई पक्षबीच छलफल चलिरहेको छ ।’
चीनले नेपाललाई विभिन्न क्षेत्रका सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसकालागिचीनले दिने अनुदान सहायताबारे गम्भीर तयारी भइरहेको बताए ।
मन्त्री साउदले भने, ‘हालका दिनमा चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । अनुदान भएको रकम पनि हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा सम्बन्धित अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य निकायहरू पनि यसको विनियोजनको लागि गम्भीर भएर लागेको छ ।’
उनले चीन भ्रमणअघि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख नेतासँग छलफल गरिने पनि बताए । मन्त्री साउदले सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको भन्दै सबैसँग समान सम्बन्ध बनाउन चाहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड आगामी ४ अक्टोबरमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


