काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।

कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् ।

रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । जहाँ उनको उपचार भइरहेको छ ।