काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन् ।

बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्‍घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै सशोधनको तयारी भइरहेको बताए ।

घिसिङले भने, ‘देशैभरी कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति शंसोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहजरूपमा आउनको लागि नीति संशोधन गर्दै छ । प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ ।’

उनले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए ।

घिसिङले भने, ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौँ । निजीक्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरू कुराहरूमा विद्युत् प्राधिकरणले सामग्री उपलब्ध गराउँछ । त्यो ठूलो कस्ट हो ।’

उनले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । बुधवार उद्‍घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । आज सरकार र साझेदारले औपचारिकरूपमा संयुक्त उद्‍घाटन गरेका छन् ।