जनकपुरधाम, १९ भदौ । आफूलाई अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धाकधम्की दिई ठगी गर्ने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

गत साउन ११ देखि भदौ १५ गतेसम्म जनकपुरधामका विभिन्न ७ वटा पसलहरूमा आफूलाई अख्तियारको कर्मचारी भन्दै धाकधम्की दिई नगद असुल गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँ बस्ने ३२ वर्षीय राहुल सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले बीआर३०एबी८८०४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

उनीहरूको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको डीएसपी गौतमले बताए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई ठगी कसूर शीर्षक मुद्दामा पाँच दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।