जनकपुरधाम, १९ भदौ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुन लागेको छ ।

जनकपुरधाममा सांगितिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याउने उद्येश्यसहित भूमि लोक महोत्सवको आयोजना हुन लागेको हो ।

मंगलबार भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले पत्रकार सम्मेलनको आयोजना गरि आगामी कार्तिक १७ गते महोत्सवको आयोजना गरिने जानकारी दिए । महोत्सव जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने उनले बताए ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा आयोजना हुन लागेको लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइने भएको छ ।

महोत्सव अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने र विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने संस्थापक निर्देशक झाको भनाइ छ ।