प्रचण्ड र बालेनको अराजक अभिव्यक्तिबाट देश चल्न सक्दैन : कोइराला

काठमाडौँ, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ छ । पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।
उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए ।
कोइरालाले भने, ‘देश अराजकतातिर बढ्न गएको भन्ने खवर २÷३ दिन पहिले कहिले हो ? काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरूलाई गम्भीररूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ ।’
उनले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


