महासंघका प्रदेश सचिव यादवद्वारा नेपाली खेलाडीलाई पुरस्कारको घोषणा

जनकपुरधाम, १८ भदौ । नेपाल खेलकुद महासंघ मधेश प्रदेशका सचिव एवम् नेकपा एमालेका युवा नेता सत्येन्द्र यादवले एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार जारी नेपाल भारतबिचको खेलमा महासंघ मधेश प्रदेशका सचिव यादवद्धारा व्यक्तिगत तर्फबाट पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।
नेपालको तर्फबाट कुनै खेलाडीले शतक लगाएमा १० हजार, अर्धशतक लगाएमा ५ हजार पुरस्कार दिने युवा नेता यादवले घोषणा गरेका छन् ।
त्यस्तै उनले नेपालको कुनै बलरले ह्याट्रिक विकेट लिएमा ५ हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
यो पुरस्कार महासंघ मधेश प्रदेशका सचिव एवम् युवा नेता यादवद्वारा व्यक्तिगत तर्फबाट प्रदान गरिनेछ ।
श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा आज भइरहेको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको छ । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेल खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो ।
भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


