जनकपुरधाम, १८ भदौ । जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादव छन् ।

प्रहरीले सोमवार दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने बालिकाकी आमाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । तर स्थानीयले भने सरस्वतीको राति नै रहस्यमय मृत्यु भएको बताएका छन् । घटना ढाकछोप गर्ने प्रयास गरिरहँदा सोमवार दिउँसो प्रहरीले खबर पाएपछि शव नियन्त्रणमा लिएको हो । एक छिमेकका अनुसार सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमै मृत्यु भएको छ ।

केही राजनीतिक दलका नेताको सहयोगमा घटनालाई दबाउने प्रयास भइरहेको एक छिमेकले बताए । पोष्टमार्टम रिपोर्ट नआएसम्म कसरी उनको मृत्यु भएको भन्न नसकिने डिएसपी गौतमले बताए । यो विषयमा उनले सुरुमा घटना समान्य रहेको पनि भने, तर पछि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने बताए ।