जनकपुरधाम, १८ भदौ । एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिकाले सोमवार विद्यालयहरुमा २ बजेपछि बिदा दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै सोमवार २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

सुचनामा लेखेको छ, ‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

यसअघि नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले आधा दिन विद्यालयहरुमा विदा दिएको थियो ।

एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले सोमवार भारतसँग खेल्दै छ । खेल सोमवार दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।