काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फूलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफूहरू काँडाको बाटोमा हिँडिरहेको तर्क गरे ।

उनले भने, ‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरबारको धारमा आगो ज्वालामा पस्ने साहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फुलको बाटो हामी हिँडिरहेका छैनौँ । काँडाको बाटो हिँडिरहेका छौँ । ’

उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमिकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरू सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफ हर लागेको उनको भनाई छ ।

उनले भने, ‘हामीले व्यवस्था बदल्यौँ । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौँ ।’

उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निर्माणको लागि भ्रष्टाचारको जरालाई फाल्न आवश्यक भएको बताए ।