काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने र यसमा सबै राजनीतिक दलको सहयोग अपेक्षा गरेको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताए । समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको उनले बताए ।

कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गरे । तर, अहिले आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।

एमाले परिवर्तनको पक्षमा नरहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भने, ‘म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।’

भ्रष्टाचारविरुद्धको कारबाही कांग्रेस – एमालेप्रति लक्षित नरहेको भन्दै उनले माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आए पनि नछोड्न भनिएको बताए ।