निजी क्षेत्रलाई अपमानित गर्ने काम बन्द गरौँ : लामिछाने

काठमाडौं, १३ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई अपमानित गरेर निरुत्साहित गर्ने क्रियाकलाप भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति लामिछानेले विभिन्न ठाउँबाट मारवाडी समुदायलाई लिएर अपमानजनक टीकाटिप्पणी गर्ने गरेको भन्दै निजी क्षेत्रलाई अपमानित गरेर निरुत्साहित गर्ने क्रियाकलाप नगर्न आग्रह गरे ।
उनले भने, ‘निजी क्षेत्रलाई निरुत्साहित गर्ने अपमानित गर्ने जुन क्रियाकलापहरू भइरहेका छन् । त्यसलाई हामी पनि भर्त्सना गर्न चाहन्छौँ । त्यस्तो किसिमको काम नगर्न आग्रह पनि गर्दछु । विभिन्न ठाउँबाट विभिन्न मारवाडी समुदायलाई लिएर अपमानजनक टीकाटिप्पणी गर्ने गरेको देखेको छु ।’
सभापति लामिछानेले जुन समाजमा पैसा कमाउनुलाई अपराध मानिन्छ त्यो समाजमा व्यापार व्यवसाय फस्टाउन नसक्ने बताए । मुलुकलाई धनी बनाउनका निमित्त व्यापार व्यवसाय र उद्योगमा लागेकालाई पैसा कमाउन सक्ने वातावरण सृजना गर्नुपर्ने तर्क गरे ।
उनले भने, ‘जुन समाजमा पैसा कमाउनुलाई अपराध मानिन्छ त्यो समाजमा व्यापार व्यवसाय फस्टाउन सक्दैन । कल कारखाना खुल्नै सक्दैनन् रोजगारी सृजना गर्नै सक्दैनौ । मैले र मेरो पार्टीका साथीहरूले पैसा कमाउन चाहे भने त्यो गलत हुन्छ । हामीले मुलुकलाई धनी बनाउनका निमित्त व्यापार व्यवसाय उद्योगमा लागेकालाई पैसा कमाउन सक्ने वातावरण बनाउने हो ।’
उनले आफ्नो पार्टीबाट निजी क्षेत्रले चन्दाको आतङ्क जीवनभर झेल्न नपर्ने भन्दै निजी क्षेत्रको लागि नीति बनाएर र सहकार्य गरेर अगाडि जाने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


