गठबन्धनका सांसद थपडी बजाउन आएका हुन् भन्ने भ्रममा नपर्नुस् : गगन

काठमाडौँ, १२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, सांसद र संसदलाई नहेप्न चेतावनी दिएका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, संसदमा पेस गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन् भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीजीलाई म यहीँबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएका सबै सांसद थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यति धेरै प्रश्न छन् । यो विधेयक मात्रै होइन, यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’
संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याए पनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ । उनले राजनीतिक अपराधीकरण आफूहरुलाई मान्य नहुने तर्क गरे ।
उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रस्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ ०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


