नयाँ नाका खोल्ने विषय चीन भ्रमणको कार्यसूचीमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका हुन् ।
उनले दुई देशका बीचमा रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताए । दुई देशका बीचमा यसअघि भएका सम्झौता र समझदारीलाई कार्यान्वयनमा जोड दिने पनि प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘निकट भविष्यमा हुने मित्र राष्ट्र चीनको भ्रमण दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यस अघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयहरू पनि भ्रमणका क्रममा कार्यसूचीमा रहेका छन् ।’
त्यस्तै, उनले सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्वास्थ्यको क्षेत्रमा रूपान्तरणकारी परियोजनामा चीनको सहयोगको बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किँदै गरेको उल्लेख गर्दै २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँको वचतमा रहेको बताए ।
विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भने, ‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनः उत्थान तथा उच्च, दिगो, समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रही आएको छ । सरकारले चालेका सुधारका कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रशासित गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख रहेका छन् । २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँको वचतमा रहेको छ ।’
यस्तै, विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको प्रधानमन्त्री दाहालले जानकारी गराए ।
प्रधानमन्त्री दाहालले भने, ‘विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको छ । विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ । वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको छ ।’
उनले वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


