काठमाडौँ, ०७ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब आर्थिक क्रान्तिको बेला भएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए ।

पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने उनको भनाइ छ । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।

केही भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।

कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ । जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?’

सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेस निर्वाचित जनप्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवारपूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

यसैगरी कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतले पार्टीका हरेक नेता–कार्यकर्ताहरुले आ–आफ्नो स्थानबाट संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।