जनकपुरधाम, ०४ भदौ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालयमा नबस्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीहरूले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा दैनिक अनुपस्थित हुने गरेको पाइएको हो ।

सोमबार दिउँसो २ बजेको समयमा गाउँपालिकाको कार्यालयमा सञ्चारकर्मी अमरेश मल्लिक पुग्दा एकजना कर्मचारीमात्र भेटिए । कार्यालय समयमा सञ्चारकर्मी मल्लिक पुग्दा त्यहाँ एकजना कार्यालय सहयोगीमात्र उपस्थित थिए ।

उनले प्रशासन फाँटलगायत अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमासमेत ताला लागेको देखेपछि तस्बिरसमेत खिचेका थिए ।गाउँपालिका अध्यक्ष जयकुमार यादव, उपाध्यक्ष सैदा खातुन र प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवको कार्यकक्षमा ताला लागेको थियो । उनले स्थानीयसँग बुझ्दा गाउँपालिकामा करिब एक हप्तादेखि जनप्रतिनिधि र कर्मचारीहरू नआउने गरेको जानकारी पाए ।

यस सम्बन्धमा बुझ्नका लागि उपाध्यक्षको मोबाइलमा सम्पर्क गर्दा उनका पतिले मोबाइल उठाई उपाध्यक्ष ज्यू अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आफ्नो आमाको उपचार गराइरहेको जानकारी दिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवलाई फोन गर्दा उनले आफू बिदामा रहेको र अहिले आफ्नो व्यक्तिगत कामले काठमाडौं आएको बताए । उनले पालिकामा विगतमा भएको घटनाका कारण सुरक्षा चूनौतिसमेत बढेकोले जनप्रतिनिधि र कर्मचारीहरू कार्यालय आउन डराइरहेको जानकारी दिए ।

यता स्थानीयले भने जनप्रतिनिधि र कर्मचारीले शहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको आरोप लगाएका छन् । ‘गाउँपालिका अध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने, ‘जनकपुरमा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि अध्यक्ष र कर्मचारी खोज्दै शहर धाउनुपर्ने बाध्यता छ ।’

निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको गुनासो छ । गाउँपालिका अध्यक्ष यादव विगतदेखि नै प्रायः जनकपुरधाममै बस्दै आएको र पछिल्लो समय करिव ४/५ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको स्थानीयको गुनासो छ ।

यता, कार्यालयका सूचना अधिकारी तपनारायण साहले कार्यालयमा लगबुक र सूचना पाटी नभएकोले को कहाँ गए भन्ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले अध्यक्ष ज्यू भने कार्यालयको गाडी मरम्मतका लागि जनकपुरतर्फ गएको हुनसक्ने बताए ।

मुखियापट्टी मुसहरनिया मात्रै नभइ जिल्लाका धेरैजसो स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयमा कार्यालयमा नबस्दा सेवाग्राही सेवाबाट बञ्चित हुँदै आएका छन् । पेशाप्रति जिम्मेवार हुनुपर्नेमा जनप्रतिनिधि र कर्मचारीहरूको गैरजिम्मेवारीपन बढ्दै गएको एक सेवाग्राहीले गुनासो गरे ।

कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरू नबसेको र सरकारी गाडी अनि सरकारी तेलमा घरको काम गर्न व्यस्त भएको ती सेवाग्राहीले बताए ।

जिल्लाका अधिकांश स्थानीय तहका कर्मचारीहरू हाजिर गरेर जाने गरेका छन् भने जनप्रतिनिधिहरूले विभिन्न संघसंस्था वा राजनीतिक दलको कार्यक्रममा रिबन काट्ने र भाषण गरेरै दिन बिताउने गरेका छन् । सेवा लिन कार्यालय धाउने सेवाग्राहीहरू गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्म कार्यालयमा नबस्दा त्यतिकै फर्किने गरेका छन् ।