काठमाडौँ, ०४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।

थापाले पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने गिरीको विचार कांग्रेस जस्तो मुल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले गिरीको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

थापाले भने, ‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरू, रचनाहरू, यो सबै कुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उहाँले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तीमा पनि अर्को १५÷२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेसलाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ । म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ । तर प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ ।’

उनले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको पनि बताए ।