काठमाडौं, ०३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना साथै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि शीतल निवास बोलाएर संसदको जारी अवरोध हटाउन आग्रह गरेका थिए । तर, झन्डै एक महिनादेखि संसद सुचारु नभएपछि राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शीतल निवास बोलाउने तयारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयले आज प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूको समयलाई समेत ख्याल गरेर बैठक तय गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘राष्ट्रपतिले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता सहभागी हुनेगरी बैठक बोलाउने तयारी गर्नु भएको छ । सोमबार वा मंगलबार हुनसक्छ । त्यसको टुंगो आज लाग्ला ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १० साउनदेखि सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरोध सुरु गरेपछि राष्ट्रपति पौडेलले २५ साउनमा प्रधानमन्त्री दाहाल, २६ साउनमा सभामुख घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र ३१ साउनमा विपक्षी दलका नेता ओलीलाई शीतल निवास बोलाएर छलफल गरेका थिए । तर, संसद् सुचारु गर्नेमा सत्ता पक्ष र प्रतिपक्षबीच ठोस सहमति बन्न सकेको छैन ।