काठमाडौँ, ०२ भदौ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताए ।

वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुने बताएका हुन् ।

शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सिर्जना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्रा.डा. सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकापर्ण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले छिट्टै संसद सुचारु हुने विश्वास समेत व्यक्त गरे । फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टीभित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधानभित्रै रहेर हुने बताए ।

कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीनवटै कृतिहरु पठनीय रहेको बताए ।