आममाफीलाई नियन्त्रण गर्न सके सुशासन कायम गर्न मद्दत पुग्छ : जनमोर्चा

काठमाडौँ, ०१ भदौ । राष्ट्रिय जनमोर्चाले आगामी दिनमा सरकारले सत्ता स्वार्थबाट प्रेरित भइ जघन्य फौजदारी अपराधमा संलग्नलाई आममाफी दिन सक्ने कुरालाई नियन्त्रण गर्न सकिए देशमा सुशासन कायम गर्न मद्दत पुग्ने बताएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा टीकापुर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठको स्वागत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘टीकापुर हत्याकाण्डको सिलसिलामा जारी फैसलाले विभत्स हत्यामा संलग्न व्यक्तिलाई आममाफी दिने कुरालाई गलत बताएको छ । राजनीति गर्नेले कुनै अपराध गरेमा राजनीतिक उद्देश्यले गरेको भनेर अपराधलाई संरक्षण गर्न वा अपराधको राजनीतिकरण गर्न नहुने भनेर दिएको जोडलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन तथा स्वागत गर्दछ ।’
टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयलाई पार्टीले विरोध गरेको पनि केसीको भनाइ छ । उनले भने, ‘हाम्रो त्यो विरोध सही थियो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले पुष्टि गरेको छ । टीकापुर हत्याकाण्ड कुनै राजनीतिक उद्देश्यले प्रेरित गतिविधि वा कार्य नभएर सभ्य समाजले कल्पनासम्म गर्न नसक्ने नरसंहार थियो । तर सरकारले सत्ता संरक्षणका लागि राजनीतिक सौदावाजीका आधारमा नै आम माफी दिने निर्णय गरेको थियो ।’
अदालतले चौधरीलाई दोषी ठहर गरेपनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


