महोत्तरी, ३१ साउन । गौशाला नगरपालिकालाई मेयर डा. दिपेन्द्र महतोको ईशारामा कर्मचारीहरुले बन्धक बनाउन खोजेको उपमेयर रेणु कुमारी महतोले आरोप लगाएकी छिन् ।

उनले नगरपालिकाका केही कर्मचारीहरु मेयरको उक्साहटमा आफु विरुद्ध प्रयोग भई विभिन्न प्रकारको लाञ्छना लगाउन खोजेको आरोप लगाएकी हुन् । उनले विज्ञप्ति प्रकाशित गर्दै भनेकी छिन, ‘म माथि विभिन्न आरोप लगाउँदै कर्मचारीले कुटपिट गरेको भनी निकालिएको विज्ञप्ति तथ्यहिन, कपोकल्पित हो । राजश्व शाखामा कार्यरत कर्मचारीलाई कुनै पनि प्रकारको कुटपिट तथा हातपात गरेको विषय भ्रामक र तथ्यहिन छ ।’

उनले जारी गरेको विज्ञप्तिमा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र सिंहको निर्देशनमा हुल–हुज्जत गर्ने, अनियमिता गर्ने, कमअशल काम गर्ने गरेको काममा हस्ताक्षर गर्न दवाव दिने जस्ता कार्यको विरोध गर्दा कर्मचारी लगाएर आफु विरुद्ध कर्मचारीलाई प्रयोग गरिरहेको आरोप लगाएको छ । संविधानले दिएको अधिकार उल्घन गरेर जवरजस्ती गर्न खोज्ने तथा नगरका आसेपासे कर्मचारीलाई उक्साएर आफु माथि बिभिन्न आरोप लगाउने गरेको बताएकी हुन् ।

जनताको अपार मतबाट निर्वाचित भएर आएदेखि म स्वयंमले आम नागरिक सेवाग्राहीको काम छिटो छरितो गरेर पठाउनु भन्दा दुःख दिने परिपाटीको विरोध गर्दा, म संग समबन्धित फाईल तथा रेकर्डहरु कर्मचारी मार्फत माग गर्दा हप्तौं नदिने जस्तो काममा अवरोध सृजना गर्ने गरेको स्थितबाट गुज्रिनुपरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखबाट मैले अह्राएको काम नगर्न उर्दी जारी गर्ने, कर्मचारीलाई उक्साएर काम नगर्न निर्देशन दिनु जस्ता क्रियाकलाप सञ्चालन हुदै आईरहेको छ । काम नगर्ने कर्मचारीलाई नगर प्रमुखबाट संरक्षण गरिनु, कमिशन उठाएर दिने कर्मचारीलाई काखी च्याप्नु, कमिशनकै आधारमा काम दिनु जस्ता कामको विरोध गर्दा म विरुद्ध उक्साएर प्रयोग गरिने कार्य हुँदै आएको छ ।’

‘मेरो कार्यकक्ष भित्रै मलाई हातपातको लागि नगरपालिकामा टोले गुण्डाहरु बोलाएर धाकधम्की दिन लाउनु, मेरो अधिकार क्षेत्रको विषयवस्तुमा हस्तक्षेप गर्नु, राजश्व परामर्श समितिको बैठकमा बोलाउँदा अटेर गर्नु, बैठकमा न आउनु जस्ता विषयमा बुझ्न खोज्दा कुटपिट आरोप लगाउनु निन्दनीय र अशोभनीय कार्य हो ।’ उपमेयर महतोले भनिन, ‘राजश्व शाखाको कर्मचारी दिपेन्द्र यादव कार्यालयमै उपस्थित रहेपनि बैठकको समन्वयनका लागि बोलाउँदा नआउनु, मोवाइल बन्द राख्नु, पटक–पटक अटेरी गर्नु जस्ता विषयमा भन्दा कुटपिटको आरोप लगाउनु लज्जाजनक विषय हो ।’

उनको भनिन, ‘क्रसर व्यवसायीको काम लुकिछिपि गर्ने, राजश्व परामर्शको समन्वयन बैठक न आउने अनि उल्छै भन्दा दिपेन्द्र नै अभद्र व्यवहार प्रदर्शन गर्ने गरेको थियो । कर्मचारी दिपेन्द्र यादवले नै अस्वभाविक र अभद्र भाषा शैली प्रयोग गरेपछि मैले अनियमित किसिमको फाईल नियन्त्रणमा लिन खोजेको हुँ ।’

नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीहरु जनताको काम गर्न, आम नागरिकको सेवाका लागि बसेको भएपनि विभिन्न वहानामा कार्यालय ठप्प पार्नु काम नगर्ने नियत जनतालाई हैरान गर्नु रहेको स्पष्ट हुन्छ । सेवाग्राहीको काम गर्न बसेको कर्मचारीले पटक–पटक नगरपालिकाको काममा अवरोध सृजना गर्नुले केही कर्मचारीहरुको नियत र मनसाय स्पष्ट हुन्छ । कर्मचारीहरु शासकको रुपमा जनताको सेवा प्रदान गर्नुभन्दा हैरान गर्न लागिपरेको उपमेयर महतोको भनाई छ ।